म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ। बेनी नगरपालिका–८ न्युरोडमा बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म तीनपटक पहिरो खसेको हो।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको न्युरोडस्थित खोरियाको पाखोबाट खसेको पहिरोका कारण ६ घरभित्र लेदोसहितको पहिरो पसेर बस्न नमिल्ने भएका छन्। अन्य ६ घरमा आंशिक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।
उनका अनुसार पहिरो पाखामा रहेका पानीका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको हो। पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। थप क्षति रोक्न प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानीको निकास व्यवस्थापन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।पहिरोको जोखिम बढेपछि न्युरोडका स्थानीयले बुधबार राति नै घर छाडेका थिए। कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री तथा कागजातसमेत सुरक्षित स्थानमा सारिएको नगरप्रमुख केसीले बताए।
बिहीबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरीसहित सुरक्षाकर्मीको टोलीले पहिरो प्रभावित घरबाट सामान सुरक्षित स्थानमा सारिरहेको छ। पहिरोको त्रासका कारण स्थानीय रातभर जाग्राम बसेका थिए।बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यका अनुसार पहिरो प्रभावित घरमा डेरा गरी बस्नेहरूका लागि खानाको व्यवस्था गरिएको छ। उनका अनुसार पछिल्लो चार दिनदेखि जमिन चिरा पर्ने क्रम बढेको थियो भने बुधबारदेखि पहिरो खस्न थालेको हो।
करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइको क्षेत्रमा जमिन चिराचिरा परेको वडाध्यक्ष कर्माचार्यले बताए। पाखाका रूखहरू ढलेका तथा ढल्किएका छन्। पानीको मुहान भएको क्षेत्रबाट सुरु भएको पहिरोले माथिल्लो र तल्लो दुवै क्षेत्रमा असर पुर्याएको छ।पहिरोका कारण बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत चुँडिएका तथा ठाउँठाउँमा भाँचिएका छन्।
पहिरोले न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई जोखिममा पारेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिए।भूगर्भविद्को अध्ययन र सुझावका आधारमा पहिरोबाट हुन सक्ने थप क्षतिको आकलन गरिने उनले बताए। सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन प्रशासनले बेनी बजारवासीलाई आग्रह गरेको छ। रासस