मुस्ताङ, बेनी–जोमसोम–कोरला सडकखण्डमा बाढीपहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका सामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन्।
गत शनिबार रातिदेखि परेको भारी वर्षाले सडकखण्डका ४६ स्थानमा क्षति पुर्याएपछि कोरलानाकाबाट हुने आयात–निर्यात प्रभावित भएको हो। भन्सार कार्यालयका अनुसार रोकिएका कन्टेनरमध्ये करिब ९० प्रतिशतको जाँचपास भइसकेको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले भन्सार यार्डमा १५० भन्दा बढी कन्टेनर रहेको बताए। केही कन्टेनरको जाँचपास प्रक्रिया जारी रहेको र दुई दिनभित्र सकिने उनले जानकारी दिए।
तातोपानी र रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्ग बनेको कोरलानाका पनि सडक अवरुद्ध हुँदा प्रभावित भएको चुडालले बताए। उनका अनुसार सडक खुलेपछि मात्रै भन्सारबाट जाँचपास भएका कन्टेनर गन्तव्यतर्फ पठाउन सकिनेछ।
दसैँ–तिहार लक्षित सामान आयात हुने समयमा सडक अवरुद्ध भएपछि राजस्व संकलनमा समेत असर परेको छ। भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दैनिक उपभोग्य वस्तु, औद्योगिक कच्चापदार्थ, फलफूल, विद्युतीय सामान, लत्ताकपडा तथा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।
सडक अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन्। तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारी पाँच दिनदेखि जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्मले जनाएको छ।
जोमसोम–कोरला सडक सञ्चालन
यसैबीच, पाँच दिनदेखि अवरुद्ध जोमसोम–कोरला सडकखण्ड बिहीबारदेखि सञ्चालनमा आएको छ। पहिरो पन्छाएर सडक सफा गरेपछि आवागमन खुलाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार मालढुङ्गादेखि बेनीसम्म पाँच, बेनीदेखि अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म २५ र काभ्रेभीरदेखि कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो तथा नदी कटानले सडकमा क्षति पुर्याएको थियो।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गादेखि गलेश्वर तथा दानादेखि कोरलासम्मको सडक मर्मतपछि सञ्चालनमा आइसकेको छ। तर म्याग्दी खण्डमा बाढीपहिरोबाट भएको क्षति गम्भीर रहेकाले मर्मत तथा स्तरोन्नतिको काम चुनौतीपूर्ण रहेको उनले बताए।
बाढीले तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोचसमेत बगाएको छ। तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे र महभीरलगायत स्थानमा सडकमा क्षति पुगेकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने शर्माले बताए। सडक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनमा समेत समस्या रहेको उनको भनाइ छ।