महोत्तरी, रातु नदीको बाँध तीन ठाउँमा भत्किएपछि महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ।बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि मंगलबारदेखि बगेको पानी बुधबार साँझदेखि जलेश्वर बजार क्षेत्रमा पस्न थालेको हो। पानीको निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको छ।
जलेश्वर–१ स्थित नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडकमा पानी जमेको छ। डुबानका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै सर्वसाधारणलाई हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन्।बाँध भत्किँदा मडै र गोरिगमाका खेतमा लगाइएको धानबालीमा समेत क्षति पुगेको छ। स्थानीयका अनुसार सो क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ। गत वर्ष पनि वन्चौरीमा बाँध भत्किएको थियो।
बाढीका कारण महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौली क्षेत्रमा धानबालीमा क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भत्किएको बाँध तत्काल मर्मत गर्ने र जलेश्वरको पुछारमा पानी निकासको व्यवस्था गर्ने काम सुरु गरिएको छ।