काठमाडौैं, नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारका लागि रकम सहयोग गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकका पदाधिकारी तथा कर्मचारीहरूबाट एक करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरिएको हो ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करारसमेतका सम्पूर्ण कर्मचारीहरूका तर्फबाट कुल एक करोड ३८ लाख ९९ हजार चार सय २५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैबीच राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था समेतको नाममा सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गते सार्वजनिक बिदाको दिनमा पनि बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।