काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेठलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको हो ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्यांकन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण सेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने छ । प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ ।
तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानुनी एवं नियामकीय व्यवस्था अनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।