काठमाडौं, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको भीषण बाढी र त्यसबाट भएको ठूलो भौतिक क्षतिको असर सेयरबजारमा समेत देखिएको छ। विशेषगरी बाढीबाट जलविद्युत् आयोजना, भौतिक संरचना तथा सवारीसाधनमा भएको क्षतिका कारण आगामी दिनमा बीमा कम्पनीहरूको दायित्व बढ्न सक्ने आकलनसँगै बीमा कम्पनीका सेयरमा समेत तीव्र गिरावट आएको छ ।
बाढीका कारण रसुवागढी हाइड्रोपावर कम्पनी र चिलिमे जलविद्युत् कम्पनीका संरचनामा क्षति पुगेको छ । त्यस्तै, नुवाकोटका बजार तथा आसपासका क्षेत्रमा समेत भौतिक संरचनामा ठूलो क्षति भएको छ । रसुवा भन्सार हुँदै दशैंका लागि नेपाल भित्र्याउन लागिएका छ सयभन्दा बढी सवारीसाधन बाढीले बगाएको छ । बाढीबाट जलविद्युत् आयोजना, घर तथा व्यावसायिक संरचना, सवारीसाधनलगायतका बीमित सम्पत्तिमा क्षति पुगेमा सम्बन्धित बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्नुपर्ने हुन्छ ।
यसले आगामी दिनमा विशेषगरी निर्जीवन बीमा कम्पनीमाथि दायित्व बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव कम्पनीहरूको नाफा तथा सेयर मूल्यमा पर्छ । सोही कारण पनि बुधबार सेयरबजारमा बीमा कम्पनीका सेयरमा ठूलो गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसुचक नेप्से ३५ दशमलव ९२ अंकले ओरालो लागेर दुई हजार पाँच सय ५८ दशमलव ३५ विन्दुमा खुम्चिएको छ । अघिल्लो दिन पनि नेप्से पाँच दशमलव ३० अंकले खुम्चिएको थियो ।
यस दिन तीन सय ४८ वटा सेयर ६१ हजार चार सय ४२ पटक कारोबार भए । जसमा एक करोड ३५ लाख ८२ हजार तीन सय २० कित्ता खरिद–बिक्रीपछि कुल चार अर्ब ७७ करोड ३८ लाख ५७ हजार छ सय ५७ रुपैयाँ पुगेको छ । यस दिन कारोबार भएका सबै १३ उपसमूहका सूचक राताम्य भएका छन् । वाणिज्य बैंक उपसमूह ११ दशमलव ०८ अंक, विकास बैंक ४५ दशमलव ९१ अंक, फाइनान्स २५ दशमलव २३ अंक र जलविद्युत् उपसमूह एक सय चार दशमलव ३३ विन्दुले खुम्चिएको छ । यस दिन सबैभन्दा ठूलो दबाब भने बीमा समूहमा देखिएको छ । जीवन बीमा सूचक एक सय ७५ दशमलव १३, निर्जीवन बीमा चार सय चार दशमलव पाँच अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बाढी तथा प्राकृतिक विपतिपछि बीमा दाबी बढ्न सक्ने सम्भावनाले लगानीकर्तामा देखिएको मनोवैज्ञानिक दबाबले पनि बीमा समूहमा ठूलो गिरावट आएको हो । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहका सूचक क्रमशः ४४ दशमलव ४७, एक दशमलव २२, ४१ दशमलव ४४, ४३ दशमलव ४५, शून्य दशमलव १२, २७ दशमलव ६४ र एक दशमलव ७४ विन्दुले खुम्चिएका छन् ।
यसदिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्टस लिमिटेड परेकोमा गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको भने यस दिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।