काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले रसुवाको विनाशाकारी बाढीका कारण सो क्षेत्रमा रहेका जलविद्युत्मा कार्यरत एक सय ९६ जना सम्पर्कविहीन भएको जनाएको छ । विभिन्न जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन रहेको जनाएको हो ।
त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको ‘त्रिशूली ३ बी’को साइटमा कार्यरत रहेका २१ जना कर्मचारी, चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका छ जना र आवास क्षेत्रवरपर रहेको एक जना र चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीबाट खटिई त्रिशूली जलविद्युत् कम्पनीबाट निर्माणाधीन त्रिशूली ३ बी जलविद्युत् आयोजनाको साइटमा कार्यरत ११ जना सम्पर्कविहीन छन् ।
यसैगरी चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना, त्रिशूली ३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा श्रमिक र प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत १÷१ जना कर्मचारी सम्पर्कविहीन छन् । रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एक जना र सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कबिहीन छन् र त्रिशूली २२० केभी ३ बि हब सबस्टेसनमा ठेकेदारको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा रहेका विद्युत् उत्पादन, प्रसारण तथा वितरणका विभिन्न विद्युतीय संरचनाहरूमा क्षति पुग्नुका साथै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू तथा निजी प्रवर्द्धकहरूको जल विद्युत् आयोजना तथा विद्युत् उत्पादन केन्द्रमा कार्यरत कर्मचारी तथा अन्य कामदारहरू सम्पर्कबाहिर रहेको प्राधिकरणले जनाएको छ । सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावितको उद्धार तथा राहतका लागि भरमग्दुर प्रयास भइरहेको समेत बताइएको छ ।
प्राधिकरणका तर्फबाट निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठसहितको टोली प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएको छ भने जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशील रहेको प्राधिकरणले जनाएको छ । श्रेष्ठले सम्पर्कविहीन रहेका कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको बताए । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरूको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।
यसैगरी वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत् प्रणाली सञ्चालनको प्रयास भइरहेको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालू भई चौघोडा सबस्टेसन सञ्चालनको प्रयास जारी गरिएको । गुजुरीदेखि गल्छीसम्मका क्षेत्रहरूमा धादिङबेसी सवस्टेशनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको । सम्भव भएका क्षेत्रमा पेट्रोलिङ गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भइरहेको बताइएको । विद्युत् प्रणालीलाई सुचारु राख्न ग्रीड सञ्चालन विभाग, विद्युत् प्रणाली सञ्चालन विभाग र सम्बन्धित वितरण केन्द्रलाई आवश्यक निर्देशन दिइएको र उक्त कार्यालयहरू प्रणाली सुचारु गराउन क्रियाशील रहेका छन् । सम्बन्धित सबै कर्मचारी तथा सर्वसाधारणलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणबाट जारी निर्देशनको पालना गर्न, आधिकारिक सूचना सूचनामा मात्र विश्वास गर्न र आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा सम्बन्धित कार्यालयमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिएको छ ।
त्यस्तै प्राधिकरणका सहायक कम्पनी र निजी प्रवर्द्धकहरूबाट सञ्चालित विद्युत् गृह तथा आयोजनातर्फ १२ वटा उत्पादन केन्द्रहरू बन्द भएको छ भने कुल ४३१.१ मेगावाट प्रसारण लाइनबाट बाहिरिन पुगेको छ । जसमा रसुवागढी जलविद्युत्् आयोजनाबाट १११, मेगावाट, सालासुंगी (सान्जेन) जलविद्युत् आयोजनाबाट ७८ मेगावाट र माथिल्लो सान्जेन जलविद्युत् आयोजनाबाट १४ दशमलव आठ मेगावाटको जलविद्युत् आयोजना बन्द हुने पुगेका हुन् । साथै सान्जेन जलविद्युत् आयोजना ४२. दशमलव पाँच मेगावाट, चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट र माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजना – ६० मेगावाट बन्द हुन पुगेको छ । माथिल्लो मैलुङ जलविद्युत् आयोजना – १४.८ मेगावाट, मैलुङ जलविद्युत् आयोजना – ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र – २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र – १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरण सोलार आयोजना – २५ मेगावाट बन्द हुन पुगेको छ ।
प्रधिकरणको सहायक कम्पनी र निजी प्रबर्द्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट का १५ वटा आयोजनाहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । वितरण प्रणालीतर्फ पूर्ण रूपमा विद्युत् अवरुद्ध रहेको जिल्ला रसुवा र आंशिक रूपमा अवरुद्ध भएका जिल्ला नुवाकोट, धादिङ र गोरखा भएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेका कारण डोजर प्रयोग गरी सफाइ कार्य जारी रहेको छ । विभिन्न स्थानमा ११ केभीका पोलहरू तथा ट्रान्स्फर्मरहरूमा क्षति पुगेको छ । प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी ३ बि हब सबस्टेसनमा पूर्ण रूपमा क्षति पुगेको छ । साथै चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध छ भने चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन पनि अवरुद्ध छ । चिलिमे हव त्रिशूली ३ बि र मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध रहेको छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध र केही प्रसारण लाइनको टावरमा समस्या रहेको छ ।