काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावित नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको उनले बताए । राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । सरकारले स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्ने उनको सुझाव छ ।
‘यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ’, उनले भने । विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो । त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।
उनले पीडित परिवारका सदस्यहरूको मनोभावनालाई बुझी सरकारले खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी राख्ने विश्वास व्यक्त गरे । बाढी पीडितहरूको पीडा सिंगो देशले बुझेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा पनि जोड दिए । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । यस्तै उनले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले नेपाली तथा विदेशी नागरिक दुवैका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन आवश्यक रहेको बताए । विपत्तिमा ज्यान गुमाउनुभएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । ‘मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ । आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ’, राष्ट्रपति पौडेलले भने ।
विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको बताए । ‘तर, कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन’, उनले भने । साथै राष्ट्रपति पौडेलले बाढीबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गर्दे घाईतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । दुखको घडीमा नेपाललाई तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराइ द्रुत सहयोग र सहकार्य प्रदान गर्ने मित्र राष्ट्रहरूलाई उनले कृतज्ञता व्यक्त गरे ।
उनले विपद्को यो घडीमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन पनि आह्वान गरेका छन् । यो विभाजनको समय होइन र एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । उनले भने, ‘यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो ।’
बाढीले असंख्य मानव जीवनसंगै भौतिक संरचना सडक, पुल, जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा समेत व्यापक र गम्भीर क्षति पुर्याएको उल्लेख गरे । उनले अब पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा ध्यान दिन आग्रह गरे । विकास मोडेलमाथि पनि पुनर्विचार गर्न उनले सुझाव दिए । ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’, उनले भने ।
जलवायु परिवर्तनको निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति विशेष ध्यान दिएर नेपालले आफ्नोका विकास रणनीति बनाउनुपर्ने उनको भनाइ छ । उनले अन्तराष्ट्रिय समुदायलाई पनि नेपालको आवाज सुन्न आग्रह गरे । ‘अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु’, उनले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । अनुगमनबाट राजधानी फर्केपछि उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । अनुगमनका क्रममा उनले पीडितहरूको गुनासा सुनेका थिए भने उद्धार, राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिएका थिए ।