काठमाडौं, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेको जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी तथा श्रमिकहरूको उद्धारका लागि नेपाली सुरक्षा निकायसँगै विदेशी विज्ञ तथा अधिकारी लागेका छन् । बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनामा कार्यरत सम्पर्कविहीन अवस्थामा रहेका अधिकारीहरूको उद्धारका लागि भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका विदेशी दक्ष अधिकारीहरू लागेका छन् ।
हालसम्म चार जना व्यक्तिको उद्धार गरिएकोमा तीन जना सुरुङमा फसेका उद्धार गरेसँगै अझै जीवित भेट्ने आशामा देश र विदेशका दक्ष अधिकारीहरूले खोजी कार्यलाई निरन्तरता दिएका हुन् । ‘त्रिशूली थ्री ए’मा कार्यरत कबिर महर्जन र सञ्जय शाहलाई १०औँ दिनमा र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना (२१६ मोगावाटबाट चिनियाँ नागरिकलाई ११औँ दिनमा उद्धार गरिएको हो ।
महर्जन र शाहलाई नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गरेका उपसचिव रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार चिनियाँ नागरिकलाई भने नेपाली सेना र दक्षिणको कोरियाको डिजस्टार विज्ञ टोलीले उद्धार गरेको हो । अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन् ।
नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान ३ः३० बजे सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘आफूले यस्तो कहिल्यै भोगेको थिइनँ, नेपालको स्थिति विगतको भन्दा भिन्न रहेको छ । अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ । यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानहरूमा एकै पटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्, जहाँ हरेक ठाउँमा आ–आफ्नै खतरा, अनिश्चितता र अझै पनि जोगाउन सकिने जीवनहरू जोडिएका छन्’, उनले सामाजिक सञ्जलामार्फत भनेका छन् ।
सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा १७ दिनसम्म फसेका ४१ जना कामदारको सफल उद्धार अभियानमा महत्वपूर्ण भूमिका खेलेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले नेपालमा अवस्था फरक रहेको बताएका छन् । उनका अनुसार, यहाँ एकै समयमा विभिन्न स्थानमा सम्भावित उद्धार अभियानहरू सञ्चालन भइरहेका छन् र प्रत्येक स्थानमा आफ्नै प्रकारका जोखिम तथा अनिश्चितता छन् ।
रसुवा बाढीको प्रारम्भिक दिनहरूमा डिक्सले अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सल्लाह प्रदान गरेका थिए । रिपोर्टअनुसार, उनको प्राविधिक सुझाव र समन्वयका कारण बाढी आएको १० दिनपछि बाढीले भरिएको त्रिशूली–३ए सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो । पछि उनी नेपाल आएर प्रत्यक्ष रूपमा फिल्डमा काम गरिरहेका छन् । उनले चिलिमे जलविद्युत् आयोजनालगायतका सुरुङहरूमा निरीक्षण तथा खोजी कार्यलाई मार्गदर्शन गरिरहेका छन् ।
डिक्सका अनुसार बाढीको पानी र हिलोले भरिएका संरचनाभित्र अझै पनि सुरक्षित हावाका खल्ती (एयर पकेट) हुन सक्ने सम्भावना छ, जहाँ मानिसहरू जीवितै रहेका हुन सक्छन् । सिल्क्यारा उद्धारबाट प्राप्त अनुभवलाई आधार बनाउँदै उनले नेपालमा भइरहेको उद्धार अभियानमा आशालाई अनुशासित कार्यमा र करुणालाई व्यावहारिक कदममा परिणत गर्नुपर्ने बताएका छन् । उनले उद्धार अभियान अन्तिम चरणसम्म निरन्तर जारी राख्ने र अझै बचाउन सकिने जीवनप्रति आशा नत्याग्ने दृढता व्यक्त गरेका छन् ।
बाढीबाट सबैभन्दा बढी प्रभावित छवटा जलविद्युत् आयोजनामा सयौँ अधिकारीहरू सम्पर्कविहीन रहेको छन् भने छ सय ८५ जना सम्पर्कमा आएका छन् । चिलिमे जलविद्युत्का छ जना, त्रिशुली थ्री बी जलविद्युत्का एक सय ९१ जना, त्रिशुली थ्री ए जलविद्युत्का ४० जना, लाङटाङ खोला जलविद्युत्का ९३ जना, रसुवागढी जलविद्युत्का ९३ जना र माथिल्लो त्रिशुली १ जलविद्युत्का पाँच सय ५७ जना सम्र्पकविहीन छन् । चिलिमे जलविद्युत्का ५२ जना, त्रिशुली थ्री बी जलविद्युत्का ८४ जना, त्रिशुली थ्री ए जलविद्युत्का १८ जना, लाङटाङ खोला जलविद्युत्का १८ जना र माथिल्लो त्रिशुली १ जलविद्युत्का छ सय ८५ जना भने सम्पर्कमा आइसेकका छन् । बाढी आएको १३औँ दिनसम्म सम्पर्कविहीनहरूको पत्ता लाग्न सकेको छैन । स्वदेशीसँगै विदेशी समेत बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी छन् । सरकारले उनीहरूको खोजी कार्य भने निरन्तर जारी राखेको छ ।
बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनको क्रममा नेपाली सेनाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धारको काम जारी रहने जनाएको हो । पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजंग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धारको काम जारी रहने बताए । उनले सुरुङमा फसेकाहरूको तीव्रताका साथ निरन्तर खोजी भइरहेको समेत बताएका छन् ।
सहायक रथी थापाले बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब एक सय जना नागरिक फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो ।
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाको प्रतिनिधिसहितको टोली ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’ (नियन्त्रण कक्ष) सम्म पुगेर खोजी गरेको सहायक रथी थापाको भनाइ छ । नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा बाँडेर अघि बढाएको जनाएको छ । यसैगरी सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनबमोजिम विपद्सँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको जानकारी दिए ।
सहायक रथी बस्नेतले विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग सहकार्य गरी उद्धारकार्य अघि बढाइएको बताए । उनका अनुसार विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएका छन् । सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको जानकारी दिए । अहिले हेलिकोप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पु¥याउनु पर्ने केही स्थानमा राहत लैजान नसकिएको उनले बताए । त्यस्तै सो क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार निरन्तर भइरहेको जानकारी दिँदै डा. उप्रेतीले छिमेकी मुलुकसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको बताए । राज्यको तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई २४ घण्टा परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् । उनले सञ्जालमार्फत निरन्तर भारतीय टोलीसहितको समन्वयनमा उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् । राजदूत श्रीवास्तवका अनुसार, नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्नका लागि आवश्यक सुरक्षा डोरीको कनेक्सन बनाइएको बताएका छन् । ‘सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटर समेत घटनास्थलमा ल्याइएको छ’, उनले भनेका छन् । यसैबीच, उद्धार कार्यलाई सहज बनाउन आवश्यक सडक निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी गराएका छन् ।
कुन आयोजनामा कस्तो छ उद्धारको अवस्था ?
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबारको उद्धार प्रयासबारे अपडेट दिएका छन् । उनका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ ।
बाढी आएको दिनदेखि त्यहाँ खोजको प्रयास गरे पनि हेलिकप्टर समेत ल्याण्ड हुन नसक्दा खोज तथा उद्धारका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भएको थियो । त्यसपछि आयोजनामा कार्यरत कर्मचारीका आफन्तहरु त्यसक्षेत्रमा पुगेर अवलोकन समेत गरे । आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको थियो । तर, मानिस फेला पर्नु भएन । यद्यपि हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी राखेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको थियो । त्यहाँ ठूला चट्टानहरु भेटिए । खोज कार्यलाई थप प्रभावकारी बनाउन भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीहरु समेत खटिएको उनले बताएका छन् ।
‘ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौं। यहाँ अहिले पनि खोज कार्यलाई निरन्तरता दिइरहेका छौँ’, उनले भनेका छन् ।
यस्तै, नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो । तर, दलदलका कारण सुरुङभित्र जान समस्या भएको उनले बताएका छन् । ‘नेपाली सेनाले भदौ १३ गते मित्रराष्ट्र भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको थियो’, प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्, ‘भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोज कार्य सुरु गरेको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौैँ ।’
खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग गरिरहेको बालेनले बताएका छन् । यता, माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको थियो । मित्र राष्ट्र चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको थियो ।
‘भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु ग¥यो’, शाहले भनेका छन्, ‘सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखियो। तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरिएको थियो ।’
त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजी जारी राखेको र खोजको क्रममा एक जनाको शव फेला पारेको उनको भनाइ छ । ‘त्यसपछि पनि हामीले खोज जारी राख्यौं। भदौ २० गते १ जनालाई उद्धार गर्यौं र २ शव फेला पार्यौँ ।’
नुवाकोटमा रहेको त्रिशूली ३ ए, जलविद्युत् आयोजनामा पनि बाढी गएको पहिलो दिनदेखिनै खोज कार्य सुरु गरेको उनको भनाइ छ । ‘सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरेको थियो’, उनले भनेका छन् ।
खोजलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न ६ वटा एस्काभेटर प्रयोग गरिएको, करिब २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लागेको उनको भनाइ छ । ‘सोही सुरुङमार्फत उद्धार टोली घ्रिसिएर भित्र प्रवेश गरेको । सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो’, उनले भनेका छन् । त्यतिले नपुगेर नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर पनि ल्याइएको उनको भनाइ छ ।
उक्त कार्यका लागि ड्रिलिङ मेसिन समेत लगेर प्रयोग गरिएको थियो। यी सबै सामग्रीहरु हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो । भदौ १९ गते २ मानिसलाई हामीले उद्धार गरेको र १ शव फेला पारेको उनले बताएका छन् । यद्यपि त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको उनको भनाइ छ ।
उनका अनुसार त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो । उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । तर, दलदलका कारण खोजका उपकरणहरु लग्न सकिएको थिएन। हालपनि आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ ।
उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १.७ किलोमिटर भित्र प्रवेश गरेको थियो। त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको थियो । खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ । आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्री शाहले बताएका छन् ।