काठमाडौं, बैंकिङ क्षेत्रमा रहेको गैरबैंकिङ सम्पत्ति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकको तुलनात्मकरुपमा अध्ययन गर्दा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा रहेको गैरबैंकिङ सम्पत्ति लगातर बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ सालको मध्य जुलाईसम्म बैंक तथा फाइनान्स कम्पनीहरूमा ५० अर्ब ५१ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । त्यसको एक वर्षपछि अर्थात् २०८३ सालको मध्य जुलाईसम्म यस्तो सम्पत्ति बढेर ५७ अर्ब चार करोड ४० लाख रुपैयाँ पुगेको छ ।
सोअनुसार पछिल्लो एक वर्षमा बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति करिब छ अर्ब ५३ करोड ४० लाख रुपैयाँ अर्थात् १२ दशमलव नौ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०८१ सालको मध्य जुलाईमा कुल गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँ रहेकोमा २०८२ सालको मध्य जुलाईमा बढेर ५० अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो । अर्थात् एक वर्षमै ४२ दशमलव ३६ प्रतिशतले वृद्धि भएको थियो ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति भने २०८० सालको मध्य जुलाईमा १८ अर्ब ६८ करोड ९० लाख रुपैयाँ थियो । त्यसको एक वर्षपछि २०८१ सालमा ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेको गैरबैंकिङ सम्पत्ति २०८२ सालमा बढेर ५० अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो । २०८३ सालको मध्य जुलाईमा भने बैंकिङ क्षेत्रमा रहेको यस्तो सम्पत्ति बढेर ५७ अर्ब चार करोड ४० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ ।
विकास बैंकमा बढ्दै गैरबैंकिङ सम्पत्ति
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको आकार ठूलो भए पनि वृद्धिद्धर भने विकास बैंकहरूमा धेरै देखिएको छ । जसअनुसार २०८२ सालको मध्य जुलाईमा विकास बैंकहरूमा चार अर्ब ६८ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएकोमा २०८३ असार मसान्तसम्ममा यस्तो सम्पत्ति बढेर पाँच अर्ब ६४ करोड १० लाख रुपैयाँ पुगेको छ । सोअनुसार पछिल्लो एक वर्षमा मात्रै विकास बैंकहरूमा ९५ करोड ४० लाख रुपैयाँले अर्थात् करिब २० दशमलव ३५ प्रतिशतले गैरबैंकिङ सम्पत्ति बढेको छ ।
यसैगरी २०८३ सालको मध्य जुनमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति चार अर्ब ९९ करोड ५० लाख रुपैयाँ थियो । एक महिनामै करिब ६४ करोड ६० लाख रुपैयाँले बढेर मध्य जुलाईमा पाँच अर्ब ६४ करोड १० लाख पुगेको छ । यो मासिक वृद्धि १२ दशमलव ९५ प्रतिशतको हो । अघिल्लो वर्ष पनि विकास बैंकमा गैरबैंकिङ सम्पत्तिको वृद्धि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । २०८१ को मध्य जुलाईमा तीन अर्ब ३६ करोड ९० लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति २०८२ सालको मध्य जुलाईमा चार अर्ब ६८ करोड ७० लाख पुगेको थियो । अर्थात् पछिल्लो एक वर्षमा विकास बैंकहरूमा करिब करिब ३९ दशमलव ११ प्रतिशतले गैरबैंकिङ सम्पत्ति बढेको छ ।
फाइनान्स कम्पनीहरूमा पनि बढ्दै गैरबैंकिङ सम्पत्ति
फाइनान्स कम्पनीहरूमा पनि गैरबैंकिङ सम्पत्ति बढेको छ । राष्ट्र बैंकका अनुसार २०८२ सालको मध्य जुलाईमा तीन अर्ब नौ करोड १० लाख रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति २०८३ सालको मध्य जुलाईमा तीन अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ । सोअनुसार पछिल्लो एक वर्षमा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति २३ करोड १० लाख रुपैयाँ अर्थात् सात दशमलव ४७ प्रतिशतले बढेको छ । २०८३ सालको मध्य जुनमा तीन अर्ब १५ करोड ८० लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति मध्य जुलाईमा तीन अर्ब ३२ करोड २० लाख पुगेको हो । यस अवधिमा फाइनान्स कम्पनीहरूमा पाँच दशमलव २० प्रतिशतले गैरबैंकिङ सम्पत्ति बढेको छ ।
२० वाणिज्य बैंकमा झण्डै आधा खर्ब गैरबैंकिङ सम्पत्ति
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा मात्र पछिल्लो समय झण्डै आधा खर्बको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
२०८२ सालको मध्य जुलाईमा वाणिज्य बैंकहरूमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेकोमा २०८३ सालको मध्य जुलाईमा यस्तो सम्पत्ति बढेर ४८ अर्ब आठ करोड १० लाख रुपैयाँ पुगेको छ । सोअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति पाँच अर्ब ३० करोड ८० लाख रुपैयाँले बढेको छ । प्रतिशतका आधारमा यो वृद्धि करिब १२ दशमलव चार प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
मासिक रूपमा पनि वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेको देखिएको छ । २०८३ सालको मध्य जुनमा वाणिज्य बैंकहरूमा ४६ अर्ब आठ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेकोमा त्यसको एक महिनामै करिब एक अर्ब ९९ करोड ३० लाख रुपैयाँले बढेर मध्य जुलाईमा ४८ अर्ब ८ करोड १० लाख पुगेको छ । यो वृद्धि चार दशमलव ३२ प्रतिशत हो ।
राष्ट्र बैंकका अनुसार २०८० सालको मध्य जुलाईमा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति १५ अर्ब ३० करोड ६० लाख रुपैयाँ मात्र रहेको थियो । २०८१ सालमा यस्तो सम्पत्ति बढेर ३० अर्ब १७ करोड ६० लाख र २०८२ असार मसान्तसम्ममा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ । २०८३ असार मसान्तसम्ममा भने यस्तो सम्पत्ति ४८ अर्ब आठ करोड १० लाख पुगेको छ । सो अनुसार पछिल्लो चार वर्षमा वाणिज्य गैरबैंकिङ सम्पत्ति तीन गुणाभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।