आफैँले जलाइएका संसद् परिसर बानेश्वरमा जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनका बारे आधा दर्जनजति मन्त्रीहरूले वार्षिक हर्षबढाइँ प्रकट गरिरहँदा त्यसको छेउछाउ अर्थात् माइतीघर चोकमा एक युवतीले आत्मदाह गरेर ज्यान त्याग्ने अभ्यास गरिन् । उनलाई तत्काल वीर अस्पताल पुर्याइयो । हाल गम्भीर अवस्थामा उनको उपचार हुँदैछ ।
काठमाडौंको माइतीघर मण्डलामा गएको मंगलबार साँझ युवती ती युवतीले आफैँलाई आगो लगाएर घाइते भएकी थिइन् । गोरखा घर भई काठमाडौं बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले त्यो दिन साँझ प्रज्वलनशील वस्तु पेट्रोल खन्याएर आफैँमाथि आगो लगाएकी थिइन् । यता त्यही ठाउँमा जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन भइरहेको थियो । उता ती युवतीले भने आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्याएको काठमाडौंका प्रहरी प्रवक्ताले जानकारी गराए ।
जेनजी आन्दोलनपछि निर्वाचनबाट अत्यधिक बहुमतले खडा भएको सरकार छैटौँ महिनामा हिँड्दै गर्दाको यो पछिल्लो आत्मदाह प्रयास हो । आउँदो असोज १२ गते यो सरकार सातौँ महिनामा प्रवेश गर्छ ।
यो सरकार गठन भएदेखि यो बेलासम्म अर्थात् छ महिनाको अवधिमा नै सरकार कारक भएर १२ जनाको आत्महत्या भइसकेको छ भने आफ्नै घरायसी कारणबाट जन्मिएका निराशाबाट आत्मदाह गरेर ज्यान दिएकाहरूको संख्या पनि उत्तिकै छ ।
सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएर वासस्थान खोसिएपछिका एक महिनामा नै विभिन्न प्रकारले आत्महत्या गर्नेहरूको संख्या १२ पुगेको थियो । यिनको नाम संसद्कै अभिलेखमा चढिसकेको छ ।
गएको साउनमा मात्रै पूर्वको एउटै ठाउँमा चार जना युवाहरूको सरकारी गोलीबाट ज्यान गएको थियो । त्यसको छानबिन प्रतिवेदनले नपर्ने ठाउँमा सरकारले बलपूर्वक गोली चलाएको भनेर लेखिएको छ ।
गणेश नेपालीको त्रिपुरेश्वर चोकमा भएका आत्मदाहमा पनि कारण भने सरकारी नै थियो । प्रहरीले आफ्नो तुजुक देखाउन उनीमाथि जस्तो व्यवहार भयो त्यसबाट उनले यो राज्यमा अब बढी बाँचेर काम छैन भन्ने निष्कर्ष निकालेर शरीरमा पेट्रोल खन्याए ।
यसअघि एउटा आत्महत्या हुँदा अहिलेका प्रधानमन्त्रीले राज्यको असफलता भनेर प्रतिक्रिया दिएका थिए । तर अहिले उनी प्रधानमन्त्री छन् र उनकै कारणले आत्महत्या गर्नेहरूको संख्या १६ पुग्दा पनि उनी भने मौन छन् ।
केही वर्ष पहिले एउटा यस्तै आत्मदाहको घटना भएको थियो । २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । सोही कारण उनको ज्यान पनि गयो । तीन वर्षअघिको बानेश्वर घटना र पछिल्लो समय मण्डला र त्रिपुरेश्वरमा भएको आत्मदाहका घटना समान देखिन्छन् ।
त्यतिबेला काठमाडौं महानगरको मेयरको हैसियतबाट वालेन्द्र शाहले प्रेमप्रसाद आचार्यको घटनामा आक्रोश व्यक्त गर्दै यो आत्महत्याको सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो भनेका थिए । त्यसबेला आफ्नो सञ्जालमा उनले लेखेका थिए – ‘एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् ।
एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् ।
नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चारमाध्यमका रूपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन ।
जनप्रतिनिधिका रूपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमीठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाका रूपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनुभन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रवद्र्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठूला–ठूला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विष्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जलि तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरूमध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदैछन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जलि छ ।’
अहिलेको कस–कसको आत्महत्यामा बालेन मौन ?
कर्णाली प्रदेशको मुगु स्थायी घर भई काठमाडौंमा राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका २५ वार्षीय गणेश नेपाली गत असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बाहिरपट्टि आत्मदाह गरे । उनको रोकिराखेको मोटरसाइकलमा ह्विल लक लगाएर एक हजार रुपैयाँ जरिबाना गरेपछि उनले यो राज्यले बाँच्न दिँदैन भन्दै ज्यान दिने कठोर निर्णय गरेका थिए । उनकोे भोलिपल्ट असार २६ गते उपचारकै क्रममा वीर अस्पतालमा निधन भयो ।
त्यसै दिन सर्लाहीका विवेक मण्डल (३५)ले पनि आत्मदाह गरे । आगोले शरीरको ८५ प्रतिशत जलेका थिए । उनले जताततै जागिरको लागि आवेदन दिए, तर पैसा र सोर्सफोर्स नभएको कारण जागिर पाउन नसकेका बताइएको छ । उनको आत्मदाहको कारण यही बन्यो । यो राज्यमा बाँच्न चाहेनन् । यसको एक महिना सेरोफेरोमा आत्मदाह गर्नेको संख्यामा अरु ३ जना थपिएका थिए । करिब तीन हप्ताका बीचमा ५ जनाले आत्मदाह गरेर ज्यान दिएका घटना सामान्य नहोला ।
आत्मदाहको यही क्रममा साउन २७ गतेको एक दिन काठमाडौंमा र जनकपुरमा गरी दुई जनाले आत्मदाहको प्रयास गरे । दुवै जना न्यून आय भएका र ऋणको भारले थिचिएका थिए । उनीहरूले ऋण दिँदा चर्को ब्याज र सेवा शुल्क लिएको, ऋण असुलीका नाममा मानसिक तथा शारीरिक शोषण भएको भन्दै विरोध जनाइरहेका थिए ।
यसै कारण सयौँ लघुवित्त ऋणीहरू सडकमा उत्रिएका देखिएको राष्ट्रिय मानव अधिकार आयोगको सदस्यले नै बताइन उनका अनुसार नागरिकहरूमा अहिले धेरै निराशा छ र सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ । सरकारले नागरिकका यतिसमस्या पनि समाधन गर्न आवश्यक देखेन ।
प्रेमप्रसादको एउटा आत्मदाहलाई विद्रोह मान्ने र पछिल्लो समय सबैभन्दा विस्मयकारी घटना ठान्ने बालेनले छोटो समयमा यतिधेरै आत्महत्या भएका घटनाप्रति कुनै प्रतिक्रिया नदिनु आफैँमा अनौठा प्रकारको शासकीय तुजुक मानिएको हुनुपर्छ ।
माघ ११ मा भएको प्रेमप्रसादको त्यो एउटा कारण राज्य हो भने उनको कार्यकारित्वमा चलिरहेको राज्यमा एक हप्ता र एक महिनाका बीचमा करिब आधा सयको आत्मदाह र अन्य प्रकारले गरिएको आत्महत्या उनले पहिले भनेजस्तै ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका’ भनेर किन नमान्ने भन्ने प्रश्न उठ्छ नै ।
उनी त्यसबेलाको यो आत्महत्याका बारे त्यसबेला भनेका कुरा अहिले विर्सन खोजिँदैछ । त्यसबेला यी शब्द फेरी सम्झौँ –नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चारमाध्यमका रूपमा सबै असफल भइरहेका छन्, नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु ।
त्यसो हो भने आफ्नो पालाको छोटो समयमा गिन्ती गर्दा त्यो एउटा आत्मदाहको धेरै गुना बढी संख्यामा भएका आत्महत्या र दाहका घटनामा प्रधानमन्त्रीले कुनै ‘भूमिका निभाउनु’ पर्दैन ?