काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको पाँच सय २१औँ सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य नाफाबाट २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार छ सय १४ रुपैयाँको तीन दशमलव ८० प्रतिशत बराबरको ५८ करोड ९२ लाख ८३ हजार छ सय १७ रुपैयाँ ३४ पैसा बोनस सेयर प्रस्ताव गरिएको छ । यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत बराबरको तीन करोड १० लाख १४ हजार नौ सय २७ रुपैयाँ २३ पैसा नगद लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार पाँच सय ४४ रुपैयाँ ५७ पैसा बराबरको लाभांश प्रस्ताव गरेको हो ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/०६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ । बैंकको विगत २० वर्षको औषत लाभांश दर १० दशमलव शून्य आठ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औषत लाभांश दर नौँ दशमलव २४ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
बैंकका अनुसार उसले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ जस्ता अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको छ । बैंकले डिजिटल तथा आधुनिक बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । त्यसैगरी नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । फ्रिलान्सरहरूलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ समेत सुरु गरिएको छ ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकले हाल देशका ६१ जिल्लामा दुई सयवटा शाखा, एक सय ६७ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार यी सञ्जालमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।