काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न आवश्यक रहेको बताएका छन् । संविधान दिवसको अवसरमा शितल निवासमा आयोजित कार्यक्रममा उनले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गरेमा मात्रै लोकतन्त्र बलियो हुने बताए ।
संविधानले स्थापित गर्न चाहेका संकल्पहरू नागरिकको जीवनमा उतार्नुपर्नेमा उनले जोड दिए । ‘संविधानलाई भाषणमा होइन; नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ’, उनले भने । नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाइ छ । ‘नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था । किनभने, हामी सबैले बुझ्नुपर्छ, शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्’, उनले भने । यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेको उनले बताए । राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउन उनले आग्रह गरे ।
संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र नभएको उल्लेख गर्दै उनले नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा रहेको बताए । ‘यसको महत्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन’, उनले भने । जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।
साथै, उनले नेपालको विकासनिर्माणमा पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए । रसुवा बाढीपछिको पुनर्निर्माणमा मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो, यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ । उनले संविधानले दिएको सङ्घीयतालाई सही कार्यन्वयन गरेर देश विकासमा उपभोग गर्न पनि आग्रह गरे ।