काठमाडौं, नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इ–सेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेका नेपालीलाई नेपालमा रहेका परिवारका सदस्यको दैनिक तथा वित्तीय आवश्यकतासँग डिजिटल माध्यमबाट सहज रूपमा जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको इ–सेवाले जनाएको छ ।
अभियानअन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा रहेका आफन्तको इ–सेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधाबारे जानकारी गराउनुका साथै रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
हाल इ–सेवामा विदेशबाट उसका आधिकारिक रेमिट्यान्स पार्टनरमार्फत नेपालमा रहेका आफन्तको इ–सेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधा उपलब्ध छ । इ–सेवा खातामा प्राप्त रकमबाट परिवारका सदस्यले विद्युत् तथा खानेपानीको महसुल, टेलिफोन तथा इन्टरनेटको बिल, बीमा योजना खरिद तथा बीमाशुल्क, विद्यालय शुल्कलगायत दैनिक जीवनसँग सम्बन्धित विभिन्न भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्ने कम्पनीले जनाएको छ ।
विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक आवश्यकताका डिजिटल भुक्तानीसँग जोडेर परिवारका सदस्यको जीवनमा थप सहजता ल्याउने उद्देश्य अभियानको रहेको इ–सेवाको भनाइ छ । भौगोलिक रूपमा टाढा रहे पनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयतालाई प्रविधिमार्फत नजिक ल्याउन अभियानले भूमिका खेल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । विदेशमा रहेका नेपालीको मेहनतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्याउने र त्यसबाट दैनिक भुक्तानी सुरक्षित तथा सहज रूपमा गर्न सहयोग गर्नु अभियानको प्रमुख उद्देश्य रहेको इ–सेवाले जनाएको छ ।
इ–सेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म पुग्नुपर्ने झन्झट कम गर्दै रेमिट्यान्सलाई औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग गर्नुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने इ–सेवाले जनाएको छ ।
इ–सेवाले लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र पहुँचयोग्य बनाउँदै आएको छ । ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियानमार्फत विदेशमा रहेका नेपालीको कमाइलाई परिवारको दैनिक डिजिटल आवश्यकतासँग जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ ।