काठमाडौं, एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ । नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउन सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबीच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ ।
साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ ।