काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेक एकाउन्ट खोलेर साइबर अपराध गर्ने व्यक्तिलाई खोजेर किन पक्राउ नगरेको भनी गृहमन्त्री सुधन गुरुङलाई स्पष्टीकरण लिएका छन् । गत शुक्रबार मन्त्रिपरिषद्को बैठक हुनुअघि प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङलाई बोलाएर स्पष्टीकरण लिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको फोटो प्रयोग गरेर सामाजिक सञ्जालमा बालेन नामका फेक एकाउन्ट खोलेर सांसद खगेन्द्र सुनारलक्षित तथानाम गरिएको पोस्ट सेयर गर्न दिएको निर्देशन नमानेको आरोपमा भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरोले सागर सरको नामबाट सामाजिक सञ्जाल चलाउने ८३ हजार फलोअर्स रहेको सागर उप्रेतीलाई अघोषित रूपमा नियन्त्रणमा लिएर दिनभर राखेको पाइएको छ । साइबर ब्युरोले प्रमाणमा नदेखिने गरी गरेको उक्त अवैध पक्राउका बारेमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई जानकारी गराएको बुझिएको छ ।
प्रधानमन्त्री बालेनकै नाममा नक्कली आईडी खोलेर सोसल मिडियामा विरोधीको मानमर्दन गर्ने गरिएको समाचार प्रकाशन गरिएपछि प्रधानमन्त्री शाहले क्याबिनेट बस्नुअघि गृहमन्त्री गुरुङलाई बोलाएर सोधपुछ गरेका थिए । उक्त भेटवार्तापछि भेटिएका पार्टीका सांसदहरूसँग गृहमन्त्री गुरुङले पुलिसमा रहेका भ्रष्टहरूले उक्त धन्दा चलाएको बताएको स्रोतको दाबी छ । साइबर ब्युरोले उप्रेतीलाई ३ सेप्टेम्बर अर्थात् गत भदौ १८ गते अवैध नियन्त्रणमा लिएको उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।