काठमाडौँ , एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ। साझेदारीअन्तर्गत योग्य एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्।
सम्झौताअनुसार, रु। २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श पाउनेछन्। यस्तै, रु। ९९ देखि रु। २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।
मङ्गलबार आयोजित कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले मोबाइल सेवासँग स्वास्थ्य सेवा जोडेर ग्राहकलाई थप सुविधा प्रदान गर्न खोजिएको बताए। उनका अनुसार निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको व्यवस्थाले ग्राहकलाई दैनिक जीवनमा प्रत्यक्ष लाभ पुर्याउनेछ।
यस सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपले ग्राहकको योग्यता र उपलब्ध सुविधाको विवरण स्वतः देखाउनेछ। सुविधा लिन योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि उक्त सुविधाको लाभ लिन सक्नेछन्।
नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। तोमरले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै कर्पोरेट क्षेत्र र स्वास्थ्य संस्थाबीचको सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप सहज बनाउन सक्ने बताए। यस्ता सहकार्यले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुर्याउने उनको भनाइ छ।एनसेलले ग्राहकलाई कनेक्टिभिटी सेवासँगै विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको साझेदारीमार्फत थप उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने उद्देश्यअनुसार यो सहकार्य गरिएको जनाएको छ।