काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा प्रतिवादी बनाइएका पाण्डे बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार पाण्डेले बिहीबार नै धरौटी रकम बुझाउने प्रक्रिया पूरा गरेपछि रिहा भएका हुन्। अब उनी बाहिरै बसेर मुद्दाको कानुनी प्रतिरक्षा गर्नेछन्।
स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा पाण्डेसहित २२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। गत साउन २७ गते दायर भएको उक्त मुद्दामा प्रतिवादीहरूबाट ९६ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दा दायर भएपछि अन्य प्रतिवादीहरू पनि क्रमशः अदालतमा उपस्थित हुन थालेका छन्। उनीहरूको हकमा पनि अदालतले उपस्थितिपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ।