काठमाडौं, राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय सुधारको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । विशेषगरी बैंकको पुँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम आठ प्रतिशतको सीमाभन्दा माथि पुग्दै ११ दशमलव ६६ प्रतिशत कायम भएको छ, जुन बैंकको वित्तीय स्थायित्व र जोखिम वहन क्षमतामा आएको उल्लेखनीय सुधारको सूचक हो ।
अघिल्लो त्रैमाससम्म चार दशमलव ४२ प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात छोटो अवधिमै ११ दशमलव ६६ प्रतिशतमा पुग्नु बैंकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकले विगतका चुनौती पार गर्दै आफ्नो पुँजी आधार मजबुत बनाउने दिशामा उल्लेखनीय प्रगति गरेको देखाउँछ ।
वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालु वर्षमा नाफामा फर्कन सफल भएको हो । खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले बैंकको मुख्य व्यवसायिक गतिविधिमा सुधार आएको संकेत गर्दछ । बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ । वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ ।
विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ । चालु वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ । यद्यपि सञ्चित नोक्सानी पूर्ण रूपमा अन्त्य भइनसकेकाले आगामी अवधिमा समेत नाफामार्फत त्यसलाई थप घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बैंकले जनाएको छ । यद्यपि सबै सूचक सकारात्मक दिशातर्फ उन्मुख भए तापनि निष्क्रिय कर्जा अझै बैंकको प्रमुख चुनौतीको रूपमा रहेको छ । चौथो त्रैमाससम्म निष्क्रिय कर्जा अनुपात ३२ दशमलव २६ प्रतिशत रहेको छ, जुन बैंकिङ मापदण्डअनुसार अझै उच्च मानिन्छ । यसले कर्जा असुली, जोखिम व्यवस्थापन तथा कर्जा गुणस्तर सुधारलाई आगामी दिनका प्रमुख कार्यसूची बनाउनु पर्ने संकेत गर्दछ । बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा सुशासनलाई संस्थागत रूपमा अझ बलियो बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पुँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पु¥याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पुँजी आधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे ।
हालको वित्तीय विवरणले राष्ट्रिय सहकारी बैंक सुधार र पुनर्संरचनाको चरण पार गर्दै स्थायित्वतर्फ अघि बढिरहेको संकेत गरेको छ । यद्यपि बैंकको दीर्घकालीन सफलताका लागि निष्क्रिय कर्जा नियन्त्रण, सञ्चित नोक्सानीको पूर्ण व्यवस्थापन तथा संस्थागत सुशासनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता भने कायमै रहेको देखिन्छ ।