काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि अघि बढाएको प्रक्रिया तत्कालका लागि रोकिएको छ। हाल निलम्बित सीईओ कपिलकुमार दाहालले बीमा प्राधिकरण र हिमालयन लाइफविरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नयाँ सीईओ नियुक्तिको प्रक्रिया रोक्न आदेश दिएको हो।
सोमबार भएको एकल इजलासको सुनुवाइपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले बीमा प्राधिकरण र हिमालयन लाइफलाई समेत उपस्थित गराएर यही भदौ १५ गते अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने विषयमा छलफल गर्ने भएको छ।

हिमालयन लाइफले नयाँ सीईओ नियुक्तिका लागि आवेदन खुलाइसकेको अवस्थामा सर्वोच्चको आदेशपछि उक्त प्रक्रिया हाललाई स्थगित भएको छ। भदौ १५ गते हुने छलफलमा अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिए कम्पनीलाई नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ। तर आदेशले निरन्तरता पाएमा नयाँ सीईओ नियुक्ति प्रक्रिया थप प्रभावित हुनेछ र डेपुटी सीईओले कामु सीईओका रूपमा कम्पनीको कामकारबाही सञ्चालन गर्नुपर्ने अवस्था आउनेछ।

बीमा ऐनमा भएको व्यवस्थाअनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दाहाल तत्काल सीईओका रूपमा कम्पनीमा फर्कने सम्भावना नरहेको बताइएको छ। दाहाल धितोपत्रसम्बन्धी कसुरमा गत साउन २२ गते धरौटीमा रिहा भएका थिए। अब भदौ १५ गते हुने बहसले हिमालयन लाइफमा नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्ने वा तत्कालका लागि रोकिइरहने भन्ने विषय तय गर्नेछ।