दोलखा, वैतेश्वर गाउँपालिका–६ नाम्दुका मानबहादुर तामाङलाई बुढ्यौलीले रोक्न सकेको छैन । सामाजिक सुरक्षा भत्ता बुझेर घरमै आराम गर्ने उमेरमा उनी बिहानै खेतबारी पुग्छन् । उमेरले ७२ वर्ष पुगेका तामाङको कृषि कर्मप्रतिको लगाव र सक्रियता लोभलाग्दो छ । कुनै समय सुख्खा र बाँझो रहेको जमिन अहिले तामाङको आम्दानीको प्रमुख आधार बनेको छ । उनले सिउडी प्रजातिको ड्रागनफ्रुट खेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् । उनले ६ वर्ष अगाडीदेखि व्यावसायिक कृषि थालेका थिए ।
ड्रागनफ्रुट खेती सुरु गर्दा उनीसँग न त विशेष प्राविधिक ज्ञान थियो, न नियमित प्राविधिक अनुगमन र सहयोग । प्राविधिक ज्ञान विना नै सुरु गरेको उनको खेती अहिले फष्टाएको छ । सुरुमा उनलाई नयाँ मानिएको फलको खेतीमा लगानी डुब्ने हो कि भन्ने चिन्ता पनि थियो । तर उनले ड्रागन खेतीमा सफलता हात पारेका छन् । ‘सुरुसुरुमा लगानी नै डुब्ने हो कि भन्ने चिन्ता लाग्थ्यो । अहिले भने लगानीअनुसारको प्रतिफल पाउन थालेको छु,’ तामाङले भने ।
अहिले तामाङको १० रोपनी जमिनमा राताम्मे ड्रागनफ्रुट फल्छ । उनले खेती सुरु गरेको दोस्रो वर्षमै उत्पादन लिन थालेको सुनाए । गत वर्ष ड्रागनफ्रुट बिक्रीबाट मात्रै करिब १८ लाख रुपैयाँ खुद आम्दानी भएको उनले बताए । उनले यस वर्ष पहिलो र दोस्रो लटबाट १३ लाख रुपैयाँ बराबरको फल बिक्री गरिसकेको जानकारी दिए । अझै करिब १२ लाख रुपैयाँ बराबरको फल पाक्ने क्रममा रहेको तामाङ बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा एक वर्षमा छ लटसम्म उत्पादन लिन सकिन्छ । तर यस वर्ष लामो समय परेको खडेरीले उत्पादन चक्र प्रभावित भएको उनले बताए । वैशाखपछि परेको खडेरीका कारण फूल फुल्ने समय पछाडि सर्दा करिब ६ लाख रुपैयाँ बराबरको उत्पादनमा क्षति पुगेको उनले बताए । त्यसकै कारण यसवर्ष चार लट मात्र उत्पादन लिन सकिने अवस्था आएको उनको भनाइ छ । ‘समयमै फूल फुलेन । दुई लट ढिलो भयो । खडेरीले उत्पादनमा ठूलो असर गर्यो,’ उनले भने ।
खडेरीका बाबजुद तामाङले यसवर्ष करिब २५ देखि २६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् । मौसम अनुकूल भएको भएमा ३० लाख रुपैयाँ हाराहारी आम्दानी पुग्ने उनको अनुमान थियो । नाम्दुको ड्रागनफ्रुट अहिले जिल्लाभर प्रख्यात छ । प्रतिकिलो ४ सय रुपैयाँसम्ममा बिक्री हुने फल वैतेश्वरको मैनापोखरी बजारदेखि जिरी, तामाकोशी र सदरमुकाम चरिकोटसम्म पुग्ने गरेको उनले बताए । ड्रागनको माग बढेपछि खेती विस्तार गर्ने हौसला मिलेको तामाङ बताउँछन् । उनी कहिल्यै उत्पादन नदिने जस्तो देखिने जमिनलाई उपयोग गरेर हाल लाखौँ आम्दानी गरिरहेका छन् । उनका लागि ड्रागनफ्रुट खेती केवल व्यवसाय मात्र नभई अहिले सक्रिय जीवनको माध्यम पनि बनेको छ । आफ्नै श्रम, जोखिम उठाउने आँट र नयाँ बालीप्रतिको रुचीले तामाङ अहिले जिल्लाका अगुवा कृषकका रूपमा परिचित छन् ।