दोलखा । बौद्ध धर्मावलम्बीहरूको महान् पर्व सागादावाको अवसरमा जिरी नगरपालिका–७ हिले निगालेस्थित ङ्ग्युर उर्गेलिङ गुम्बामा सातदिने विशेष धार्मिक पूजा, अभिषेक तथा धर्मदेशना कार्यक्रम आयोजना हुने भएको छ ।
गुम्बा व्यवस्थापन समितिका अनुसार आगामी जेठ १६ देखि २१ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम सोलुखुम्बुको सेर्लो गुम्बाका पेमा थार्चिन रिन्पोक्षेको विशेष उपस्थितिमा हुन लागेको हो । कार्यक्रमअन्तर्गत जेठ १६, १७ र १८ गते लगातार तीन दिन पवित्र कङ्युर पाठ वाचन गरिने छ भने जेठ १९ गते रिन्पोक्षेको स्वागत तथा श्रद्धालुहरूलाई पवित्र दर्शनको अवसर प्रदान गरिने छ । जेठ २० गते च्योद साधना गर्ने साधकहरूका लागि क्रोधिकाली ठोमा नग्मोको अभिषेक (वाङ) तथा सर्वसाधारण श्रद्धालुहरूका लागि आर्य आवलोकेश्वर थुक्जेछेन्पो (महाकरुणा) को वाङ प्रदान गरिने कार्यक्रम रहेको छ । यी अभिषेकलाई आध्यात्मिक उन्नति, करुणा, सकारात्मक ऊर्जा तथा पुण्य सञ्चयका लागि विशेष महत्वका साथ लिइन्छ । त्यसैगरी कार्यक्रमको अन्तिम दिन जेठ २१ गते ‘शिठो गोङ्पा रङढोल’ बाट बार्दो थोद्रोल (मृत्युपश्चात् मुक्ति उपदेश) को आगम (लुङ) प्रदान गरिनुका साथै श्रद्धालुहरूलाई दीर्घायु अभिषेक (छे–वाङ) समेत प्रदान गरिने छ । उक्त उपदेशले मृत्यु र पुनर्जन्मबीचको अवस्थाबारे ज्ञान दिनुका साथै मुक्तिको मार्गबारे मार्गदर्शन गर्ने विश्वास गरिन्छ ।
आयोजकका अनुसार सात दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवले बौद्ध दर्शन, साधना, करुणा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । गुम्बाले सम्पूर्ण श्रद्धालु तथा धर्मावलम्बीहरूलाई कार्यक्रममा सहभागी भई धर्मलाभ लिन अनुरोध गरेको छ ।