काठमाडौ, ‘एएमपीआईएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याइएको हो ।
यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ । मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यक्रम कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याएको बताईन् । यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणाली कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा अब कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध ‘एएमपिआइएस नेपाल’ एपमार्फत पनि सार्वजनिक गर्न थालिएको हो ।