काठमाडौं , इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। शनिबार राति सम्पन्न रोमाञ्चक तथा गोलको वर्षा भएको खेलमा फ्रान्सलाई ६–४ गोलले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो स्थान पक्का गरेको हो।इंग्ल्यान्डले खेलको सुरुआतमै अग्रता बनाएको थियो। डेक्लान राइसले तेस्रो मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल गरे भने बुकायो साकाले ३७औँ मिनेटमा गोल थपे। पहिलो हाफको इन्जुरी समयमा साकाले नै अर्को गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनाएको थियो।
तर दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास ग¥यो। ४८औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको खाता खोले। त्यसको केही मिनेटमै, ५४औँ मिनेटमा ब्राड्ली बार्कोलाले गोल गरे। ६६औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स खेलमा फर्किँदै ३–४ को अवस्थामा पुगेको थियो।८७औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्डले ५–३ को अग्रता बनायो। खेलको इन्जुरी समयमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई पुनः ४–५ को अवस्थामा पु¥याए।
तर खेल सकिनै लाग्दा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे। बेलिङहमको गोलसँगै इंग्ल्यान्डले ६–४ को रोमाञ्चक जित निकाल्दै विश्वकपमा तेस्रो स्थान हासिल ग¥यो।यो खेल विश्वकप इतिहासमा तेस्रो स्थानका लागि भएको खेलमध्ये सर्वाधिक गोल भएको खेल बनेको छ।
यसै खेलमा दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पनि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। २२ गोलसहित उनले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका हुन्। यस्तै, जारी विश्वकपको गोल्डेन बुट दौडमा पनि एम्बाप्पे १० गोलसहित शीर्षस्थानमा छन्। मेसी ८ गोलसहित दोस्रो स्थानमा छन्। सोमबार मध्यरात १२ः४५ बजे हुने फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा मेसीसँग एम्बाप्पेलाई उछिन्ने अवसर भने अझै बाँकी छ।