दोलखा, दोलखा जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ फल्न थालेको छ । तीन वर्षअघि परीक्षणका रूपमा रोपिएका बिरुवामा यसवर्ष फल लागेको हो । तर पहिलो उत्पादनमै रोग–कीराको संक्रमण देखिएको छ । रोगका कारण अधिकांश दाना झरेका छन् ।
स्थानीय किसानका अनुसार वैशाख महिनामा स्याउका बोटमा फूल प्रशस्त फुलेका थिए । चिचिलाले बोट नै ढाक्ने गरी फल लागे पनि असार लागेसँगै रोग–कीराको संक्रमण बढ्दा अधिकांश दाना झरेको उनीहरूको भनाइ छ । अहिले केही बोटमा बाँकी रहेका फल भने राम्रोसँग बढिरहेका छन् । स्थानीय किसान छङबुटी शेर्पाले तीन वर्षअघि परीक्षणका रूपमा १२ वटा स्याउका बिरुवा रोपेकी थिइन् । हाल आठवटा बिरुवा मात्र बाँकी रहेको र गत वर्षदेखि केही बोटमा फल लाग्न थालेको उनले बताइन् । ‘यस वर्ष सुरुमा बोटभरि दाना लागेको थियो । पछि रोग–कीराका कारण धेरै झरे । अहिले बाँकी रहेका स्याउ राम्ररी बढिरहेका छन्,’ उनले भनिन् । फल लाग्ने क्रममा धेरै चिचिलामै झर्ने समस्या देखिएको भन्दै उनले यसको समाधानका लागि प्राविधिक सहयोग आवश्यक रहेको बताइन् ।
सोहि गाउँका कृषक कल्याण विकका अनुसार टासिनामको हावापानी स्याउ खेतीका लागि उपयुक्त देखिएको छ । रोग–कीराको प्रभाव समयमै नियन्त्रण गर्न सकिए यहाँ व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न सकिने सम्भावना देखिएको उनले बताए । ‘पहिलो प्रयासमै फल लाग्नु आफैंमा सकारात्मक संकेत हो । अहिले देखिएको समस्या रोग–कीराको व्यवस्थापनसँग सम्बन्धित हो । त्यसलाई नियन्त्रण गर्न सके आगामी वर्षदेखि उत्पादन अझ राम्रो हुन्छ,’ उनले भने । उनका अनुसार सम्बन्धित निकायबाट प्राविधिक परामर्श, रोग–कीरा व्यवस्थापन, गुणस्तरीय बिरुवा र आवश्यक सहयोग उपलब्ध गराइए टासिनाममा स्याउ खेती विस्तार गर्न सकिने देखिएको छ ।
हाल टासिनामका सात घरधुरी किसानले स्याउ खेती सुरु गरेका छन् । मानेडाँडाका तीन घरधुरी तथा चौरटोल, बगङ, यार्सा र ज्याङमाका एक–एक घरधुरीले परीक्षणका रूपमा बिरुवा रोपेका थिए । प्रारम्भिक रूपमा फल लाग्न थालेपछि अन्य किसानको पनि यस खेतीप्रति चासो बढेको छ । टासिनामकै किसान नाम्गेल शेर्पाले १५० वटा स्याउका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेका छन् भने अन्य किसानले पनि १० भन्दा बढी बिरुवा रोपेका छन् । उनीहरूले स्याउ खेतीलाई भविष्यमा गाउँको मुख्य नगदे बाली बनाउने योजनामा रहेको बताए । स्थानीयका अनुसार अन्य बालीको तुलनामा स्याउ खेतीमा श्रम कम लाग्ने, बजारको माग राम्रो रहने र केही वर्षपछि नियमित आम्दानी लिन सकिने सम्भावना छ । हिमाली भेगको चिसो हावापानी र अनुकूल वातावरणका कारण टासिनाममा स्याउ खेतीको भविष्य आशाजनक देखिएको स्थानियको भनाइ छ ।