नुवाकोट, नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो छ हजार रुपैयाँ निर्धारण गरिएको छ । पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाइ लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निधारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार चियाको मूल्य निर्धारण गरिएको हो । घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियाका बिरुवामध्ये करिब १३ हजार बोटबाट उत्पादन सुरु भएको अध्यक्ष तामाङले बताए । उनले भने, ‘अर्थोडक्स र अर्ग्यानिक चियाको गुणस्तरसहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको मागलगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुला भएको छ ।’ स्थानीय सरकार सञ्चालन ऐन र यसअन्तर्गत बनेको कार्यविधिमा उल्लेख भएअनुसार ‘घ्याङस्वारा चिया व्यवस्थापन समिति’मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समितिका सदस्यसचिव सरोजकुमार खातीले जानकारी दिए ।
उनका अनुसार पहिलोपटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबारमार्फत पालिकालाई आम्दानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजनासहितको लक्ष्य लिइएको छ । गाँउपालिकाले उत्पादन गरेको चियाको मूल्य ५ सय ग्रामको तीन हजार रुपैयाँ, २ सय ५० ग्रामको एक हजार ५ सय रुपैयाँ, एक सय ग्रामको ६ सय रुपैयाँ, ५० ग्रामको ३ सय रुपैयाँ र २५ ग्रामको १ सय ५० रुपैयाँ उल्लेख गरिएको छ । उच्च हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अग्र्यानिक चियाको अहिलेको बजार मूल्यअनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्यसचिव तथा रोजगार सीप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ ।
गाउँपालिकाले गत वैशाखमा यहाँको चियालाई ‘घ्याङस्वारा अग्र्यानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो । त्यसपश्चात् ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रिया पूरा गरेर बजार (उपभोक्ता)मा लैजान मुख्य अवरोध रहेको मूल्य निर्धारणसहितको सञ्चालन प्रक्रिया पूरा गरेको जनाएको छ । पञ्चकन्या–४ स्थित घ्याङस्वाराको ३ सय ३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा चियाको बिरुवा लगाइएको छ । रासस