नेपालको ग्रामीण समाजमा अझै पनि यस्ता असंख्य व्यक्तिहरू छन्, जसले कुनै ठूलो पद, प्रतिष्ठा वा आर्थिक स्रोतको भरमा होइन, आफ्नै पसिना, सीप र अथक मेहनतको बलमा सम्मानित जीवनको निर्माण गरेका छन्। उनीहरू चर्चामा कम आउँछन्, तर उनीहरूको जीवन आफैंमा एउटा विश्वविद्यालय हो। त्यस्तै प्रेरणादायी व्यक्तित्व हुन् मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, दुसाराङ्ग गाउँका ४३ वर्षीय विष्णु प्रजा जो परिश्रम, अनुशासन र पारिवारिक एकताले गरिबीलाई कसरी पराजित गर्न सकिन्छ भन्ने जीवित उदाहरण हुन् । विष्णु प्रजाको परिश्रम र मेहनत आजको पुस्ताको लागि एकदमै महत्वपूर्ण पाठ हुनसक्छ।
विष्णु प्रजाको परिवारमा हाल १३ जना सदस्यहरु छन् । २० देखि २५ रोपनि पाखो जमिनमा गरेको परिश्रम र मेहनतले सबैको मन छुन्छ। बिहान उठ्ने बित्तिकै खेती र किसानी काम गर्ने उनको दैनिकी त्यतिमा मात्र सीमित छैन। आफूलगायत श्रीमती, छोरी, ज्वाइँ, छोरा, बुहारी र साना बालबच्चाहरु समेत कोही जंगलमा जाने, कोही बाख्रा र कुखुराको हेरचाह गर्ने, कोही गोरुको लागि घाँस काट्न जंगलमा जाने गर्दछन्। त्यति मात्र होइन गाउँभरिका हातहतियार, हसिया, कोदालो, कुटो, खुकुरी जस्ता दैनिक उपभोगमा आवश्यक पर्ने हातहतियार र औजारहरू मर्मत गर्ने, अर्जाप्ने लगायत सबै काम गाउँलेहरुले उनलाई नै लगाउँछन्।
विष्णुको जीवन केवल एउटा किसानको कथा होइन। यो संघर्ष, आत्मनिर्भरता, पारिवारिक सहकार्य, सीप, अनुशासन र निरन्तर श्रमको जीवित दस्तावेज हो। आज धेरै युवाले अवसरको खोजीमा गाउँ छोडिरहेका बेला विष्णु प्रजाले गाउँमै बसेर मेहनतलाई जीवनको मूल मन्त्र बनाएका छन्। उहाँको कथा आजका किसान, मजदुर, उद्यमी, विद्यार्थी र सम्पूर्ण नेपाली समाजका लागि प्रेरणाको स्रोत बन्न सक्छ। दुसाराङ्ग गाउँको बिहानीसँगै विष्णु प्रजाको दिनचर्या सुरु हुन्छ। सूर्य उदाउनुअघि नै उहाँ खेतबारीतर्फ लागिसक्नुहुन्छ। उहाँको दैनिक जीवनमा आरामभन्दा जिम्मेवारी ठूलो छ। करिब २० देखि २५ रोपनी पाखो जमिनमा उहाँले मकै, पाखे धान, गहुँ, तोरी तथा अन्य विभिन्न बाली लगाउँछन् ।
वर्षभरि खेतमा पसिना बगाउने उहाँको परिवारले खेतीलाई केवल जीविकोपार्जनको माध्यम होइन, सम्मानजनक जीवनको आधार मानेको छ। तर उनको काम खेतीमा मात्र सीमित छैन। गाउँका अधिकांश मानिसलाई आवश्यक पर्ने हँसिया, कोदालो, कुटो, खुकुरी तथा अन्य फलामे औजारमा धार लगाउने, मर्मत गर्ने र अर्जाप्ने काम पनि उहाँकै जिम्मामा आउँछ। एउटा औजार अर्जापे बापत ५० रुपैयाँ मात्र लिन्छन् । साथै आफ्नो बारिमा मकै, पाखे धान लगायत सबै अन्न बालीहरू लगाउँछन् जसबाट केहि मात्रामा आयआर्जन गर्छन् । रकम सानो भएतापनि निरन्तरको श्रमले सानो आम्दानीलाई पनि ठूलो उपलब्धिमा बदल्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । यसलाई धेरैल अकल्पनिय रुपमा लिएका छन् ।
१३ जना सदस्य भएको यति ठूलो परिवारको व्यवस्थापन सजिलो काम भने होइन। तर यो परिवारका प्रत्येक सदस्य परिवारको जिम्मेवारीमा सहभागी छन्। यही पारिवारिक सहकार्य नै उनीहरूको सबैभन्दा ठूलो पुँजी बनेको छ। कोही जंगलबाट गोरुका लागि घाँस ल्याउँछन् भने कोही बाख्रा र कुखुराको हेरचाह गर्छन्। कोही खेतीपातीमा व्यस्त हुन्छन् भने महिलाहरू घरधन्दा र खेतीसँगै उत्पादन व्यवस्थापनमा सक्रिय छन्। परिवारका प्रत्येक सदस्यले आफूले सक्ने काम इमानदारीका साथ गर्छन्। यही कारण उनीहरूको घरमा कहिल्यै अभाव हुँदैन। विष्णु प्रजाकी श्रीमती परिवारको मुख्य आधारस्तम्भ हुनुहुन्छ। उहाँले खेतीपातीदेखि घर व्यवस्थापनसम्म सबै काममा उत्तिकै योगदान दिनुहुन्छ। विष्णु प्रजाकी बुहारी, छोरी र परिवारका अन्य महिलाहरू पनि बिहानदेखि साँझसम्म उत्पादनशील काममा व्यस्त रहन्छन्।
विष्णु प्रजाकी छोरीले धेरै ठूलो अवसरको खोजीमा गाउँ छोडीडनन् । बरु आफ्नै घरलाई रोजगारीको केन्द्र बनाइन । उनको छोरीले घरैमा बसेर गाउँभरिका महिला र बालबालिकाहरूको लागि आवश्यक पर्ने कपडा तयार गर्नुहुन्छ र फाटेका र च्यातिएका कपडाहरु उहाँले सिलाउनुहुन्छ र मर्मत गर्नुहुन्छ। जसबाट उहाँको छोरीले घरैमा बसेर दैनिक रुपमा थोरै भएपनि आयआर्जन निरन्तर रुपमा गर्नुहुन्छ। यसबाट हुने आम्दानी ठूलो नभए पनि निरन्तर छ। गाउँमै बसेर सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश विष्णु प्रजाकी छोरीको कामले दिएको छ। आजका युवापुस्ताका लागि यो एउटा सकारात्मक उदाहरण हो।
विष्णु प्रजाका छोराछोरीहरूले धेरै पढ्न पाएनन्। आर्थिक अवस्था, भौगोलिक कठिनाइ र ग्रामीण परिवेशका कारण औपचारिक शिक्षा सीमित रह्यो। विष्णु प्रजाको जेठा छोराको असामहिक निधन पछि उहाँका माइला र साइला छोरा, साथै ज्वाइँ, दैनिक मजदुरी तथा लेबर कामका लागि मनहरी, हेटौंडा, चितवन, धादिङ लगायतका स्थानमा जान्छन्। उनीहरूले कमाएको रकम अनावश्यक रुपले खर्च नगरी घरमा पठाउँछन्। परिवारप्रतिको जिम्मेवारी र अनुशासनले उनीहरूको मेहनतलाई अझ अर्थपूर्ण बनाएको छ। जीवनमा आइपर्ने कठिनाइले उनीहरूलाई मेहनत गर्न सिकायो।
विष्णु प्रजा खेतीपातीमा मात्र सीमित हुनुहुन्न। उहाँ एक दक्ष डकर्मी तथा घर निर्माण गर्ने मिस्त्री पनि हुनुहुन्छ। गाउँघरमा घर निर्माणदेखि मर्मतसम्मका काममा उहाँको माग रहन्छ। आवश्यक पर्दा उहाँका छोराहरू र ज्वाइँ पनि उहाँसँगै काम गर्छन्। यसरी एउटा परिवारले विभिन्न सीपको उपयोग गरेर वर्षभरि आम्दानीका अनेक स्रोत सिर्जना गरेको छ। साथै विष्णु प्रजा उत्कृष्ट सिकर्मी पनि हुनुहुन्छ। टेबल, कुर्सी, खाट, पलङ, लोबेड लगायत काठका सामग्री निर्माण गर्ने उहाँको सीप गाउँभरि परिचित छ। केही वर्षअघि उहाँले बजारमा करिब ६५ हजार रुपैयाँ पर्ने सेकेन्ड हेन्ड काठ काट्ने मेसिन ३५ हजार रुपैयाँमा खरिद गर्नुभयो। त्यो मेसिनले उहाँको कामलाई थप सहज बनायो। अहिले गाउँभरिका काठ चिर्ने तथा काट्ने काम उहाँ र उहाँका छोराहरूले नै गर्छन्। तर यो सफलता एकै दिनमा भएको होइन।
आधुनिक मेसिन आउनुअघि उहाँले वर्षौंसम्म हाते आराले काठ चिर्नुभयो। कठिन श्रमबाट सुरु भएको यात्रा आज आधुनिक उपकरणसम्म पुगेको छ। यसले देखाउँछ कि लगनशील मानिसले साना अवसरलाई पनि ठूलो उपलब्धिमा बदल्न सक्छ। त्यतिमात्र होइन विष्णु प्रजा फुर्सत हुनासाथ डोको र नाङ्ग्लो बुन्न थालिहाल्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि मेहेनत गर्ने हो भने दिनमा ३ देखि ४ वटा सम्म नाङ्ग्लो बुन्न सकिन्छ र प्रत्येक नाङ्ग्लो पाँचसय रुपैयामा बिक्रि गर्न सकिन्छ। यसको अर्थ नाङ्ग्लो बुनेर पनि दिनमा कम्तिमा पनि पन्द्र सय देखि दुइ हजार रुपैयाँसम्म कमाउन सकिन्छ।
विष्णु प्रजाको मेहनतको सबैभन्दा ठूलो प्रमाण उहाँको घरमा थन्किएको अन्न हो। अघिल्लो वर्ष उत्पादन भएको मकै नै अझै बाँकी छ। यस वर्ष फेरि प्रशस्त मकै, धान र अन्य अन्नबाली उत्पादन भएको छ। यति धेरै उत्पादन भएको छ कि घरमा अन्न राख्ने ठाउँ नै अभाव हुन थालेको छ। घरको माथिल्लो तलामा राखिएको मकैको भारले घरको माथिल्लो तल्ला समेत केही लच्किएको दृश्य लेखकले प्रत्यक्ष रुपले देखेको थियो। त्यसबेला यो लेखकले थप अन्न माथि नराख्न सुझाव दिँदा विष्णु प्रजाकी श्रीमतीले मुस्कुराउँदै भन्नुभयो, ‘हाम्रो घर त अन्नले भरिइसकेको छ। अझै आधाभन्दा बढी खेतको मकै र धान थन्क्याउन बाँकी छ। अब कहाँ राख्ने भन्ने सोच्दैछौँ।’ यो वाक्य केवल एउटा परिवारको अवस्था होइन; यो निरन्तर श्रमले सिर्जना गरेको समृद्धिको सजीव चित्र हो। धेरै मानिस गरिबीलाई भाग्यसँग जोड्छन्। तर विष्णु प्रजाको जीवनले एउटा फरक सन्देश दिन्छ। उहाँको अनुभवले देखाउँछ कि इमानदार श्रम, सीप र अनुशासन भए गरिबीलाई पराजित गर्न सकिन्छ। खेती गर्ने, मजदुरी गर्ने, सिकर्मीको काम गर्ने, फलामे औजार मर्मत गर्ने, काठ चिर्ने काम गर्ने, घर निर्माण गर्ने, पशुपालन गर्ने, सिलाइ गर्ने साथै डोको र नाङ्ग्लो बुन्ने यी सबै कामहरुबाट आएको आम्दानीले उहाँको परिवारलाई आत्मनिर्भर बनाएको छ। उहाँका घरमा २० देखि २५ वटा बाख्राहरु छन्, धेरै कुखुराहरु छन् र हलगोरु पनि छन्। उहाँको खेतबारीमा प्रशस्त अन्न फल्छ किनकि उहाँको परिवारका सदस्यहरू सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्छन्। यही समन्वयले गर्दा नै १३ सदस्यीय परिवारलाई सम्मानपूर्वक जीवन बिताउन सक्षम बनाएको छ।
आजका धेरै युवाले सफलता भनेको केवल वैदेशिक रोजगारी, सरकारी जागिर वा ठूला व्यवसायमा मात्र देख्ने गरेका छन्। तर विष्णु प्रजाको जीवनले सिकाउँछ कि काम सानो वा ठूलो हुँदैन; इमानदार श्रम नै सबैभन्दा ठूलो सम्पत्ति हो। यदि एउटै परिवारका सदस्यहरूले आफ्नो क्षमता अनुसार काम गरे, अनावश्यक खर्च नियन्त्रण गरे, सीप सिके र उत्पादनलाई प्राथमिकता दिए भने गाउँमै बसेर पनि सम्मानजनक जीवन सम्भव छ भन्ने कुरा विष्णु प्रजाको जीवन र मेहनतबाट सिक्न सकिन्छ। यो कुरो देखेर र थाहा पाएर यो लेखकलाई यस्तो अनुभव भयो कि मेहनत गर्ने मान्छेलाई कहिले पनि गरिबीले र भोकले छुन सक्दैन। विष्णु प्रजाको कथा उहाँको मेहनत र परिश्रम आजका सबै नेपाली, सबै किसान, मजदुर, जागिर गर्ने, व्यापार र व्यवसाय गर्ने सबैको लागि एउटा महत्वपूर्ण पाठ हुनसक्छ। हामीले मेहनत गर्छौं भने कहिले पनि अभावले हाम्रो घरमा र परिवारमा पाइला टेक्न सक्दैन भन्ने कुरा विष्णु प्रजाको मेहनत र परिश्रम सबैको लागि एउटा पाठ हुनेछ।
नेपालको समृद्धि केवल सहरका उद्योगहरुबाट मात्र सम्भव छैन। गाउँका मेहनती किसान, मजदुर, कारीगर र उद्यमीहरूको योगदानले नै देशको वास्तविक अर्थतन्त्र बलियो हुन्छ। विष्णु प्रजा जस्ता हजारौँ श्रमिकहरू नै ग्रामीण अर्थतन्त्रका मेरुदण्ड हुन्। उनीहरूलाई उचित सम्मान, प्रविधि, बजार र सरकारी तवरबाट सहयोग उपलब्ध गराउन सके नेपालको कृषि र ग्रामीण अर्थतन्त्रले नयाँ गति लिन सक्छ। विष्णु प्रजाको कथा कुनै काल्पनिक सफलता होइन। यो पसिनाले लेखिएको वास्तविक जीवनगाथा हो। उहाँले प्रमाणित गर्नुभएको छ कि मेहनत कहिल्यै व्यर्थ जाँदैन, श्रम गर्ने हात कहिल्यै खाली हुँदैन, सीप सिक्ने मानिस कहिल्यै बेरोजगार हुँदैन र परिवार एकजुट भए कुनै पनि अभाव लामो समय टिक्न सक्दैन।
परिश्रम गर्नेलाई र मेहनत गर्नेलाई केही कुराको खाँचो हुँदैन भन्ने कुरा उहाँलाई हेरेर र उहाँको परिवारलाई हेरेर थाहा पाउन सकिन्छ। आज उहाँको घरमा अन्नको कमी छैन। १३ जनाको परिवारलाई छाकैपिछे जसो उहाँ मासु र भात खुवाउन सक्नुहुन्छ। उहाँका बाख्रा र कुखुरा, गोरु, बारीमा उब्जिएको अन्न साथै उहाँले दैनिक सबैजसो क्षेत्रको काम गरेर कमाउने रकमले आनन्दसँग उहाँले आफ्नो परिवार मात्र पाल्नुभएको छैन अझै उहाँले मनहरी क्षेत्रमा समेत अरुको खेत अधिया र ठेक्कामा लिएर धान, तोरी र अन्य गहुँ जस्ता अन्नहरू उब्जाउनुहुन्छ। परिवारमा आत्मविश्वास छ, सम्मान छ, आत्मनिर्भरता छ तर यी सबै कुरा कुनै चमत्कारले होइन, दशकौँको निरन्तर श्रम, अनुशासन, इमानदारी र पारिवारिक सहकार्यको परिणाम हुन्। विष्णु प्रजाको जीवनले सम्पूर्ण नेपाली समाजलाई एउटा सरल तर गहिरो सन्देश दिन्छ कि मेहनत गर्ने मानिसलाई अभावले लामो समयसम्म पराजित गर्न सक्दैन। यस्ता श्रमशील व्यक्तिहरू केवल आफ्ना परिवारका आधार मात्र होइनन् तर उनीहरू राष्ट्र निर्माणका मौन नायक पनि हुन्। विष्णु प्रजाको प्रेरणादायी यात्रा धेरै नेपालीका लागि आशाको उज्यालो बनोस् ।