काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको खाँचो रहेको बताएका छन् ।
नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रममा उनले प्रविधि र क्षमता अरुबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताए । हाल नेपाली समाजमा नैतिकता हराउँदै गएको उनको भनाइ छ । आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भए पनि आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सन नहुने उनले बताए । उनले भने ‘मलाई लाग्दछ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचों छ ।’
राष्ट्रपति पौडेलले प्रविधिको विकास र परिवर्तनको गति तीव्र रुपमा विकास भएको बताए । कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई पनि समयसँगै बदलिदिएको उनको भनाइ छ । ‘परन्तु प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना हुँदैनन्, इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता’, उनले भने । मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए ।
सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्न नहुने उनको भनाइ छ । ‘जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यावहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वास हो भन्ने पनि हामीले बिर्सनुहुँदैन ।’ राष्ट्रपति पौडेलले वास्तवमा दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने बताए ।
नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले एक सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई सदा स्मरणीय बनाउन सफल भएको बताए । राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मानबाट डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई सम्मान गरेका थिए ।