काठमाडौँ, नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वीरगंजमा प्रोटोनको ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र वीरगंजमा सोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दशैंअघि झापाको विर्तामोडमा अर्को सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले वीरगंजमा नयाँ विद्युतीय मोडल ‘द अल–न्यू प्रोटोन इ–मास ५’ समेत सार्वजनिक गरेको छ । नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीका रूपमा इ–मास ५ लाई बजारमा ल्याइएको हो । कम्पनीका अनुसार आधुनिक प्रविधि, स्मार्ट फिचर र व्यावहारिक डिजाइनलाई प्राथमिकता दिइएको यो मोडल सहरी आवागमन तथा दैनिक प्रयोगलाई लक्षित छ । गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन्। त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीको दाबी छ ।
सोरुम उद्घाटन तथा इ–मास ५ सार्वजनिक कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकारलगायतको उपस्थिति थियो । कार्यक्रममा वीरगंज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रतिको बढ्दो चासो देखिएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले मधेश प्रदेशका ग्राहकबीच इ–मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले आधुनिक प्रविधि, सुरक्षा, उपयोगिता र मूल्यको संयोजनले मोडललाई यस क्षेत्रका ग्राहकले रुचाउने विश्वास व्यक्त गरे ।
क्षेत्रीका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै वीरगंज पुगेको हो । कम्पनीले नेपालभरका ११ वटा सोरुममार्फत मोडललाई ग्राहकसम्म पुर्याउने अभियान अघि बढाएको जनाएको छ । इ–मास ५ दुई भेरियन्टमा उपलब्ध छ । वीरगंज सार्वजनिककरणका क्रममा कम्पनीले प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । वीरगंज बाइपास रोडस्थित नयाँ सोरुमबाट ग्राहकले इ–मास ५ र इ–मास ७ अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।