सन् २०१५ किर्तिपुरको टियु ग्राउण्डमा क्रिकेट हेर्न गएको एउटा साधारण दिनले जीवनमा असाधारण मोड ल्यायो । त्यो दिन क्रिकेटभन्दा बढी चर्चा फुटबलको भइरहेको थियो । मेरा मित्र निसान कार्की र दाइ मनोज शाही बार्सिलोनाका कट्टर समर्थक थिए। उनीहरूको फुटबलप्रतिको मोह, खेलको विश्लेषण गर्ने शैली र खेलाडीहरूको कथा सुन्दा मलाई पनि फुटबलको नसा राम्रैगरि चढ्न सुरु भएको थियो । “त्यही दिनबाट औपचारिक रुपले सुरु भयो मेरो फुटबल यात्रा।कलेजको क्यान्टिनदेखि चियापसलसम्म, साथीहरूको जमघटदेखि सामाजिक सञ्जालसम्म फुटबल नै फुटबल हुन थाल्यो। फुटबल खेल्न खासै आएन, तर बुझ्न, महसुस गर्न र प्रेम गर्न सिकेँ। र त्यो प्रेमको केन्द्रमा एकजना खेलाडी थिए– नेयमार जुनियर।सायद संसारभरका लाखौँ समर्थकजस्तै म पनि नेयमारबाटै फुटबलमा तानिएको समर्थक हुँ। एक उदाउँदो ताराको उदय: सन् १९९२ फेब्रुअरी ५ मा ब्राजिलको मोगी दास क्रुजेसमा जन्मिएका नेयमार दा सिल्भा सान्तोस जुनियरले बाल्यकालदेखि नै असाधारण प्रतिभा देखाइसकेका थिए। सान्टोस क्लबबाट व्यावसायिक फुटबल सुरु गरेका उनले किशोरावस्थामै संसारलाई आफ्नो नाम सुनाइसकेका थिए।उनको ड्रिब्लिङ, गति, बल नियन्त्रण र सिर्जनात्मक खेल हेर्दा लाग्थ्यो, फुटबल उनको खुट्टाबाट होइन, उनको आत्माबाट खेलिन्छ।पेलेपछि ब्राजिलले पाएको सबैभन्दा ठूलो प्रतिभा भनेर उनलाई चिनाउन थालियो।सन् २०१३ मा नेयमार स्पेनिस महारथी बार्सिलोनामा पुगे। त्यहाँ उनको भेट भयो दुई महान खेलाडीसँग– लियोनल मेसी र लुइस स्वारेज। एमएसएन त्रयीले विश्व फुटबलमा आतंक मच्चायो ।
सन् २०१४–१५ को सिजन फुटबल इतिहासकै उत्कृष्ट आक्रमण पङ्क्तिमध्ये एक बन्यो। त्यस सिजनमा बार्सिलोनालेः (यूईएफए च्याम्पियन्स लिग जित्यो), ला–लिगा जित्यो,कोपा डेल रे जित्यो ट्रेबलको ऐतिहासिक उपलब्धि हासिल गर्यो ।त्यो सिजन च्याम्पियन्स लिगमा नेयमारले १० गोल गरे। फाइनलमा युभेन्टसविरुद्ध गोल पनि गरे। तर, यति योगदान हुँदाहुँदै पनि धेरैजसो श्रेय मेसीको नाममा जान्थ्यो। कहिलेकाहीँ लाग्थ्यो, नेयमार आफैँ महान खेलाडी भए पनि उनी मेसीको छायाँमा हराइरहेका छन्।
मजस्तै उनका अरू समर्थकहरूलाई पनि लाग्ने गर्छ– सायद, त्यही कारणले उनले जीवनकै सबैभन्दा ठूलो निर्णय लिएका हुन् कि! सन् २०१७ मा विश्व फुटबल स्तब्ध भयो। नेयमारले २२२ मिलियन युरोको विश्व कीर्तिमानी स्थानान्तरणमा बार्सिलोना छोडेर फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पिएसजी) जाने निर्णय गरे। धेरैले आलोचना गरे। धेरैले भने– “पैसाको लागि गए। “तर सायद उनले आफ्नै पहिचान खोजिरहेका थिए। पीएसजीमा उनलेः पाँच (लिग १) जिते,तीन फ्रेन्च कप जिते,दुई पटक (कुप दे ला लिग) जिते,तीन पटक (ट्रोफे दे– श्याम्पियोँ) जिते।
र सबैभन्दा ठूलो कुरा–सन् २०२० मा इतिहासमै पहिलो पटक पीएसजीलाई (यूईएफए च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याए । यद्यपि फाइनलमा बायर्न म्युनिखसँग हार व्यहोर्नुपर्यो। फुटबलले नेयमारलाई सबै कुरा दियो– ख्याति, पैसा, सम्मान, प्रेम। तर फुटबलले उनीबाट एउटा कुरा खोस्यो– स्वस्थ शरीर। उनले करियरभरि अनेकौं गम्भीर चोटहरू बेहोरिरहे। मेटाटार्सल फ्र्याक्चर, घुँडाको चोट, एंकल इन्जुरी, लिगामेन्ट समस्या...प्रत्येक चोटले उनको खेललाई मात्र होइन, सपनालाई पनि चोट पुर्यायो । कहिलेकाहीँ लाग्छ– यदि चोटले धोका नदिएको भए, नेयमार आज कम्तीमा एकपटक बालोन डिओर जितिसकेका हुन्थे। यदि भाग्यले साथ दिएको भए, उनले विश्वकप पनि उचालिसकेका हुन्थे।

फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध गोल गरेपछिको सेलिब्रेसन।
२०१४ ब्राजिलको सबैभन्दा ठूलो पीडा: ब्राजिलमा आयोजित विश्वकप। सम्पूर्ण देशको आशा एक खेलाडीमा थियो– नेयमार। क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध खेल्दा जुआन जुनिगाले गरेको ट्याकलले उनको ढाडमा गम्भीर चोट पुर्यायो ।उनको विश्वकप त्यहीँ सकियो। त्यसपछि जर्मनीसँगको सेमिफाइनल...ब्राजिल १–७ ले पराजित भयो। यो हार केवल फुटबलको हार थिएन।यो एक राष्ट्रको आँसु थियो। आजसम्म पनि फुटबल इतिहासको सबैभन्दा पीडादायी हारमध्ये एक मानिन्छ। २०१८ – बेल्जियमले रोक्यो। २०२२ – क्रोएसियाले निरास बनायो बनायो। २०२६ – फेरि नर्बेले सपना चकनाचुर बनायो । चार विश्वकप खेलेर पनि ट्रफी हात नपार्नु कुनै सामान्य कुरा होइन।

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेविरुद्ध पेनाल्टीमा गोल गरेपछिको प्रतिक्रिया।
तर महानता केवल ट्रफीले मापन हुँदैन। राष्ट्रिय टोलीको सर्वकालीन गोलकर्ता सन् २०१० मा ब्राजिलबाट डेब्यु गरेका नेयमारले आफ्नो राष्ट्रिय टोलीका लागि एक सयभन्दा बढी खेल खेल्दै ब्राजिलको सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गरे। पेलेजस्ता महान खेलाडीको गोल संख्या पार गर्नु आफैँमा असाधारण उपलब्धि हो। तर त्यसभन्दा ठूलो उपलब्धि के हो भने–उनले एउटा पुस्तालाई फुटबलसँग प्रेम गर्न सिकाए।
विश्वभरका समर्थकहरूको भावनात्मक नायक : रोनाल्डो र मेसीको युगमा तेस्रो महान खेलाडी हुनु सजिलो थिएन। तर नेयमारले संसारलाई देखाए– फुटबल भित्र उनको आफ्नै एउटा ब्रह्माण्ड छ। अफ्रिकादेखि बंगलादेशसम्म, नेपालदेखि इन्डोनेसियासम्म, अरबदेखि दक्षिण अमेरिकासम्म लाखौँ समर्थकहरू नेयमारका कारण एक ठाउँमा जोडिए।सामाजिक सञ्जालमा बनेका मित्रता, फुटबलका बहस, रातभर जाग्राम बसेर हेरेका खेलहरू...यी सबैको केन्द्रमा एउटा नाम थियो–नेयमार। तिमीले सबै कुरा जितेनौ, तर सबैको मन जित्यौ । नेयमारले विश्वकप जितेनन्। बालोन डिओर जितेनन्।
पीएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेनन्। तर उनले एउटा कुरा जिते–मानिसहरूको प्रेम। त्यो प्रेम कुनै ट्रफीभन्दा ठूलो हुन्छ। आज विश्वभर लाखौँ समर्थकहरू उनीसँगै हाँस्छन्, उनीसँगै रुन्छन्। किनभने नेयमार केवल खेलाडी होइनन्। उनी भावना हुन्। उनी सम्झना हुन्। उनी एउटा पुस्ताको युवावस्थाको हिस्सा हुन्। हामी तिमीलाई केवल गोलका लागि सम्झिने छैनौँ। हामी तिमीलाई त्यो जादुई ड्रिब्लिङका लागि सम्झिनेछौँ।हामी तिमीलाई फुटबललाई सुन्दर बनाइदिएको कारण सम्झिनेछौँ।हामी तिमीलाई हाम्रो युवावस्थाका रातहरू, साथीहरूसँगका बहसहरू र सपनाहरूका लागि सम्झिनेछौँ।धन्यवाद, नेयमार !तिमीले सायद सबै ट्रफी जितेनौ। तर तिमीले संसारभर करोडौँ समर्थकहरूको हृदय जित्यौ। त्यो कुनै विश्वकपभन्दा कम होइन।हामी तिम्रो फुछबल युगको साक्षी बन्यौँ, तिम्रो संघर्षका साक्षी बन्यौँ र तिम्रो अन्तिम यात्राका पनि साक्षी बन्यौँ। यही नै हाम्रो गर्व हो।किनकि इतिहासले ट्रफी गन्नेछ, तर समर्थकहरूले तिम्रो जादु सम्झिरहनेछन्।