दोलखा, जंगली जनावर बाँदरको बढ्दो आतंकका कारण दोलखाका किसान चिन्तित बनेका छन् । भित्र्याउने बेलाको मकैबाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँको संख्यामा बारीमा पस्ने बाँदरको हुलले एकैदिन ठूलो क्षति पुर्याउन थालेको किसानहरूको गुनासो छ ।
जिल्लाका किसानहरू बिहानदेखि साँझसम्म बारीमै बसेर मकै जोगाउन बाध्य छन् । ‘दुई–तीन सयको हुलमा आउने बाँदरले एक–दुई बोट गर्दै सिंगो बारीकै मकै सखाप पार्छन् । एक्लै धपाउन जाँदा उल्टै मानिसमाथि आक्रमण गर्छन्,’ वैतेश्वर–६ का किसान प्रशुराम घिमिरेले भने । मकै खान आएका बाँदरलाई धपाउने क्रममा घिमिरेमाथि बाँदरले आक्रमण गरेको थियो । बाँदरको कुटाइ र टोकाइबाट उनको हातखुट्टामा चोट लागेको छ ।
स्थानीयका अनुसार वैतेश्वर क्षेत्रमा पछिल्ला दुई–तीन वर्षमा बाँदरको संख्या उल्लेख्य रूपमा बढेको छ । मानिसको बसाइँसराइसँगै बस्तीमा मानवीय गतिविधि घट्ने र तल्लो क्षेत्रमा खानेकुरा नपाउने भएपछि बाँदर अचेर माथिल्लो क्षेत्रमा समेत प्रवेश गर्न थालेका छन् । बाँदरले मकै बाली नष्ट गर्न थालेपछि यसवर्ष उत्पादन घट्ने किसानहरूको चिन्ता छ । कतिपय किसानको बारीमा लगाइएको मकै बाँदरले पूरै नष्ट गरिदिएको छ ।
किसानहरू बाली जोगाउन दिनरात बाँदर धपाउन बाध्य छन् । तर पनि उनीहरूले बाँदरको समस्याबाट मुक्त हुन सकेका छैनन् । सरकारले बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि दीर्घकालीन र प्रभावकारी योजना नल्याएसम्म किसान सधैं मर्कामा पर्ने देखिन्छ । बाँदरको कारण कयौँ खेतीयोग्य जमिन बाँझै बस्ने स्थिति आएमा कृषि उत्पादनमा ठूलो असर पर्ने सरोकारवाला बताउँछन् ।